२०६३ सालको बैसाख पहिलो साता सम्ममा २०६२ चैत्र बाट सुरु भएको जनआन्दोलन निर्णायक बिन्दुमा पुगिसकेको थियो । व्यवस्था परिवर्तनका लागि काठमाडौँका सडकहरुमा थुप्रैले रगत बगैसकेका थिए । जनतामा आक्रोश थियो र डर पनि! कतै येत्रो बलिदान खेर जाने त होइन? यस्तै अन्योलका १९ दिनपछि राजा ज्ञानेन्द्र नेपाल टेलिविजनमा देखा परे । जनताको शक्ति आफु बिरुद्ध खनिएको देखेपछि तत्कालिन राष्ट्र प्रमुख राजाले बाध्य भएर एउटा भाषण पढेर सुनाए र संसद पुनर्स्थापनाको घोसणा गरे । र आज २०७१ सालमा आइपुग्दा हामी आठौं लोकतन्त्र दिवस मनाइरहेका छौं ।
आजको दिनमा राष्ट्रपति कार्यालयबाट शुभकामना संदेश पठाउंछन्, उपराष्ट्रपति कार्यालयले संदेश पठाउँछ, प्रधानमन्त्रिले केहि भन्छन् अनि प्रमुख र अमुख पार्टीहरुबाट पनि आफ्नै कुरा मिसाएर शुभकामना संदेशहरु आउछन् ।
तर अर्को पाटो के पनि छ भने लोकतन्त्र दिवस धेरै नेपाली जनताको लागि बिदाको दिन हो: कर्मचारीलाई आज अफिस बन्द, बिद्यार्थीलाई स्कुल बन्द । उनीहरुलाई रमाइलै होला । अनि पासपोर्ट बनाउन हतार भैराखेका युवालाई, कार्यालय र बिद्यालय अगाडीका पसलेलाई अलि नमजा लाग्ला । तर सर्वसाधारण जनतालाई अरु खास्सै केहि बन्न सकेको छैन लोकतन्त्र दिवस ।
वास्तवमा टेलीभिजन र रेडियोमा भए जातिका राजनैतिक नेताहरुले खुब मिठो भाषामा संदेश दिनुपर्ने के छ त लोकतन्त्र दिवसमा? वा तेत्रा ठुला मान्छेले त्यति महत्व दिंदा पनि आम जनतालाई खास्सै मतलब नहुने लोकतन्त्र दिवस हाम्रा देशका राजनैतिक असफलताहरुको नमिठो सम्झना मात्र बनिसक्यो त ? एक छिन संझौ त; कुनै बेला यस्तो थियो जब अहिलेका नेताहरुले ठुलो जनसागरलाई नारायणहिटी दरबार तिर अघि बढ्दा रोक्नु परेको थियो तर आज तिनै जनतालाई त्यहि दिनको उत्सबमा किन यस्तो बितृष्णा भयो त?
राष्ट्रिय दिवस
लोकतन्त्र दिवस निरंकुश शासन व्यवस्थामाथि समावेशी साशन व्यवस्थाको विजयको बडा दशैं हो । यो जन आन्दोलनको रोजा-व्रत कालपछि आउने रमजान हो । हिमाल पहाड र मधेश सबै क्षेत्रका सबै वर्ग, जाति, क्षेत्र, लिङ्गका जनता संलग्न भएको लोकतन्त्र दिवस हाम्रो एकता दिवस हो । लोकतन्त्र त्यसै आएको होइन कर्फ्यु तोडेर ज्यानको पर्वाह नगरी निरंकुस राजतन्त्रको मनमा ढ्यांग्रो ठोक्दै अग्रपंक्तिमा लम्कने साहसी जनताको बलिदानीले आएको हो लोकतंत्र. जनताले चाहेरै आएको हो लोकतन्त्र । नेपाली जनता काठमाडौँका सडकहरूमा, ठुला साना सहरहरुमा, गाउँ गाउँमा लाखौंको संख्यामा एक आवाज लिएर एक लक्ष्य लिएर उत्रिएपछि आएको हो लोकतन्त्र । राजनैतिक दलहरुले त व्यवस्थापन मात्र गरिदिएका हुन्, मुख्य कर्ता त जनता नै थिए । त्यहि लोकतान्त्रिक आन्दोलनको जगमा उभिएर नेपाल एउटा पारिवारिक देवत्तिकरण र मनपरीतन्त्रको युगबाट जनताको प्रतयक्ष शासनको व्यवहारिक युगमा प्रवेश गर्यो, त्यहि आन्दोलनले नेपालमा धर्म निरपेक्षताको बिउ रोप्यो र नेपालमा राष्ट्रिय सहमतिको र समावेशिताको बिगुल फुक्यो ।
लोकतन्त्र नेताहरुले ल्याएको होइन, जनताले आफ्नै निम्ति खोसेर लिएको हो: तर लोकतान्त्रिक आन्दोलनमा जनताको पक्षमा रहेका राजनैतिक दलका नेताहरु नै अहिले छोटे राजा बनेका छन् । जनताका आकाँक्षाहरु पुरा भएका छैनन्; राजनीतिमा ब्ययाप्त अपराधीकरणले जनता आक्रान्त छन्, भ्रष्टाचारले मिहिनेती उद्द्यमीहरुको कर रित्त्याइराखेको छ, दण्डहीनताको आगोले समाज डढेको छ, सामान्य जनताको जीविका महंगिदै छ । यस पक्षमा हाम्रा राजनैतिक दलहरुका नेता र कार्यकर्ताले घोत्लिएर सोच्नै पर्ने हुन्छ ।
कसरि मनाउने होला त लोकतन्त्र दिवस?
एक दिनले केहि हुँदैन, तर यो दिवस हाम्रा लागि आफ्नो ज्यानअर्पण गरेका बीर सहिदहरुलाई सम्झने दिन हो र हामी सबैले उनीहरुको तेत्रो बलिदानीको बदलामा हामीले उनीहरुका सपनालाई के न्याय गरेका छौं त भनेर मनन गर्ने अवसर हो ।
नयाँ बर्षमा हामीले व्यक्तिगत संकल्पहरु गरेजस्तै आजको दिनको यो उर्जालाई हामिले समाज र देशको लागि व्यक्तिगत र सामुहिक रुपमा केहि गर्ने संकल्प गर्ने दिन बनाउन सक्छौं । एक अर्कालाई सम्मान गर्ने र समाजका लागि केहि गर्ने व्यवहारको विकास गर्न साना साना बानीहरु हामीले आफुमा ल्याउने प्रण गर्न सक्छौं। संकल्पहरु केहि बृहत पनि हुन सक्लान्: अहिले लोकतन्त्रका उपलब्धिहरु धरापमा भएको बेला , जनता सधैं चनाखो हुन जरुरि छ । हाम्रो समाजले सचेत समूहहरुको आस गरिरहेको छ, हाम्रो समाजले केहि गर्न नहिच्किचाउने जनताहरुको खोजि गरिरहेको छ । त्यो वर्ग, त्यो महत्वपूर्ण समूह हामी भित्रैबाट आउने हो. हामी त्यो समुदाय बन्ने निर्णय गर्न सक्छौं ।
No comments:
Post a Comment