हाम्रो देशमा अझै सम्म राष्ट्रियताको बलियो भावनाको विकास हुन सकेकै छैन। हरेक देशवासीको मनमा आफ्नो देशप्रति अगाध माया र बलिदानीकै भावना छचल्कीरहेको भएपनि एकताबद्ध राष्ट्रिय भवनको कमि स्पष्ट खड्किन्छ। अहिलेका हामी देशलाई माया गर्नेहरुले इतिहासकै रक्तपातपूर्ण र वैमनस्यताले भरिएको कालखण्डलाई पार गरेका छौं। त्यस्तो अवस्था किन आयो भन्ने बुझ्दै नबुझी; उत्पीडनका आवाजहरुलाई अझैं पनि सानो बिखण्डनकारी झुण्डको नाटक भन्दै बुझपचाउंदै अघि बढ्न खोज्ने हो भने हामीले फेरी तिनै गल्ति गर्नेछौं; फेरी पनि त्यहि उत्पीडन र आक्रोश र प्रतिसोधको कहिल्लै उम्किन नसकिने चक्रव्यूहमा फंस्नेछौं।
इतिहासदेखि अहिलेसम्मका देशभक्त जनतालाई, तिनका भोगाइलाई एकपटक नमन गर्यौं भने हाम्रा अगाडी राष्ट्रिय एकताका बाधक तत्वहरु आफै छर्लंग हुन्छन्। अबको समय हामी हाम्रै कमजोरीलाई केलाउने समय हो; यो समय ती कमी-कमजोरीबाट पाठ सिकेर सद्भाव र विश्वासको जगमा एउटा यस्तो अघोषित समझदारीको विकास गर्ने हो जसले पुराना सबै बिभेदहरुलाई बिर्साईदियोस् र आजसम्मका सबै आक्रोशहरुलाई बढारिदियोस्।
यस परिवेशमा बलियो राष्ट्रिय एकताका केहि महत्वपुर्ण बाधकहरुको पहिचान गर्न जरुरि छ; जुन यसप्रकार छन्:
गौरवपूर्ण इतिहासका केहि काला पाटाहरु
विश्वास
गोर्खा राज्यको बिस्तार अभियान अघि बढ्दै जाँदा जब गोर्खाले
मधेशका राज्यहरुमाथि आँखा पुर्यायो; तब त्यतिबेला तत्कालिन मधेशी राज्यहरुले
दक्षिणतिरको अर्को बलियो शक्ति ब्रिटिश इष्ट इंडिया कम्पनीसंग सहयोग मागे। तर
कम्पनीले पुग्दो सहयोग गरेन र नेपाली सेनाले तराईमधेशका राज्यहरु माथि बिजय हासिल
गर्यो। त्यसपछि वेलायत-नेपाल युद्धमा नेपाल भीमकाय वेलायती सेनासंग हारेपछि सन्
१८१५ को सुगौली सन्धि भयो जसअनुसार मधेश वेलायती भुमिमा गाभियो। सन् १८१६ को
नेपाल-वेलायत सहमति पछि नेपालले मधेशको त्यो भूभाग फिर्ता पायो। यसरि भौगोलिक
रुपमा मधेश नेपालमा पर्यो। तर नेपाल सरकारले पहिले बेलायतसंग सहकार्य गरि
आक्रमणकारी नेपाली सेनालाई पन्छाउन खोजेको समथल भूभागका जनतालाई हत्तपत्त विश्वास
गर्न हिच्किचायो। कालो वर्णका र गैर-खस भाषा बोल्ने मधेशी जनतालाई राज्यले राज्यका
अन्य नागरिकको जस्तो समान व्यहवार देखाउन सकेन। फलस्वरूप मधेस बाट काठमाडौँ आउन
पनि भिसा जस्तै कागज बनाउनु पर्ने बाध्यता मधेशी जनतालाई पर्यो। यो व्यवस्था २००७
सालसम्म रहिरह्यो।
"एउटै राजा एउटै देश एउटै भाषा एउटै भेष"
प्रजातन्त्र स्थापनापछि बनेको निर्वाचित सरकारलाई खारेज
गर्दै राजा महेन्द्र शाहले २०१७ मा नेपाली हावा पानि सुहाउदो भेनेर प्रचारित
पंचायती व्यवस्था स्थापना गरे। सायद राष्ट्रमा रहेको विविधितालाई राष्ट्रिय एकताको
बाधक मान्दै, राजा महेन्द्र ले ‘एउटा राजा एउटा देश एउटा भाषा एउटा भेष’ भेन्ने नीति लिए। यसले गर्दा राष्ट्रिय
स्तरमा नेपाली भाषाको प्रचार प्रसार भयो र अन्य भाषाहरु ओझेलमा परे। यसरि
नितान्त रुपमा विविधिताले भरिएको देशमा अधिनायकवादी एकात्मकताको प्रयोग गरिदा
जनजाति बीचमा एकरुपता आउने भन्दा पनि उत्पीडनको भाव पैदा भयो।
विभेदपूर्ण राजनैतिक संस्कार
समाजको आधिकारिक प्रतिनिधित्व गर्नुपर्ने हाम्रो देशका लगभग
सबै जसो राजनीतिक दलहरु समावेशी हुन सकेका छैनन्, आवरणमा समावेशी देखिए पनि मूल नेतृत्वमा
एकात्मकता व्यापक छ। राष्ट्रिय भनिएका पार्टीहरुमा पनि उप्पल्लो पहाडे जातको मात्र
प्रतिनिधित्व छ। मूलतः मधेशवादी मुद्दा लिएर जन्मिएका दलहरुमा पनि समावेशी चरित्र छैन। मुलधारका
पार्टीहरुबाट बनेका ‘समावेशी’ दलहरुमा पनि मूल नेतृत्वको जतिकै अत्यधिक बाहुल्यता रहेको
पाइएको छ (उदारहण: नेकपा (मावोवादी), संघिय समाजवादी)।
आफ्नै नितान्त व्यक्तिगत र हदै गरे पार्टीगत हित खोज्ने
संकुचित दायराबाट हाम्रो राजनैतिक नेतृत्व जबसम्म मुक्त हुन सक्दैन, तबसम्म सबैलाई
समेटेर लैजान सक्ने राजनेताको अभाव भैरहनेछ।
आर्थिक विपन्नता
अन्य कारणहरुमा जतिसुकै घोत्लिए पनि एउटा महत्वपूर्ण कारण
देश र समाजको आर्थिक विपन्नता नै हो। त्यसै गरि धनी र सम्वृद्ध समाझहरु सबैमा राष्ट्रिय एकता
हुन्छ भन्नु मुर्खता हुन्छ भन्ने कुरा सोभियेत संघ, स्पेन आदि को उदारहणहरुबाट स्पष्ट हुन्छ। तर के पनि सत्य हो भने राष्ट्रिय एकता र राष्ट्रिय संवृद्धि एकै रथका दुई पाटा
जस्ता हुन्।
आर्थिक संवृद्धि बिनाको राष्ट्रिय एकता अत्यन्त कमजोर हुन्छ भने एकता
बिनाको राष्ट्रिय संवृद्धि अत्यन्त अल्पकालीन हुन्छ।
राष्ट्रिय क्रिकेट टोलि आफ्नो समावेशी स्वरूप र सफलताहरुको कारण राष्ट्रियताको व्यवहारिक प्रतिक बन्न सफल भएको छ। |
सामाजिक अनुशासन र शिक्षा
हाम्रो देश विविधिताले भरिपुर्ण भए पनि हाम्रा
पाठ्यपुस्तकमा एक अर्काको संस्कृति प्रतिको सम्मान गर्ने शिप सिकाइएकै हुदैन। हो, सामाजिक सद्भाव एउटा शिप हो जुन सिक्न सकिन्छ र सिकाइनु पर्छ। इराकमा नेपाली
मारिदा मस्जिदमा आक्रमण हुने गरेका घटना होउन् वा भगवान बुद्धको जन्म भारतमा भएको हो
भन्ने अबुझ भारतीय कलाकारको बिरोधमा ‘धोति’ प्रतिको आक्रोश होस्, चेतनाको निम्न
स्तर नै सामाजिक अनुशासनहिनता र अन्ततः राष्ट्रिय विभेदको प्रमुख कारण हो भन्ने
थाहा हुन्छ। जस्तो गत वर्ष दशरथ रंगशालामा हाम्रो देशको फूटबल टोलिले भारतीय टोलि
माथि बिजय हासिल गर्दा दर्शक दिर्घा र सामाजिक संजालका भित्ताहरुमा उपस्थित
कैयौंले ‘धोति हार्यो’ को नारा लगाए तर त्यो नाराले त्यो वस्त्र धोति प्रति
आफ्नोपन महशुस गर्ने राष्ट्र भक्त मधेशीहरुलाई कस्तो महशुस भयो होला भन्ने तर्फ
पट्टक्कै ध्यान दिएनन्। यसरि त्यो नारा घन्काउने मद्धे अधिकांसलाई त्यो थाहा पनि
हुन पाएन कि त्यो नाराले आफ्नै देशवासीलाई कस्तो मर्माहित तुल्यायो भनेर, 'धोति'लाई गालि गर्दा कहाँ नेर के गल्ति
भयो भन्ने कुरा थाहा पाएनन्। यस अवस्थामा सामाजिक चेतनाको अविवृद्धि हुन जरुरि
देखिन्छ, जसले गर्दा एक विवेकी देशवासीले अर्को देशवासीको चित्त
कहिल्लै दुखाओस्।
टेलीभिजन कार्यक्रमहरुमा वा पत्रपत्रिकामा ब्यक्त हुने पहिचानयुक्त संघियताको भद्दा बिरोध होस् वा कुनै पनि अवसरमा राष्ट्रिय एकता दर्साउन हरेक पटक
मधेशी समुदायको व्यक्ति देखाउनु पर्दा देखाइने तरकारी व्यापारी होउन्, संचार जगतले यो
कुरामा संवेदनशील र सृजनशील हुन नसक्दा नकारात्मक संदेश वा आसय प्रचारित भैरहेको
प्रति सबै सजग हुनु जरुरि छ।
उपसंहार
हाम्रा साझा दुश्मनहरुलाई नंग्याईराख्दा एउटा कुरा के बिचार पुर्याउनु पर्छ भने परिवर्तनका पक्ष र बिपक्ष दुबैतिर आफ्नो व्यक्तिगत फाइदाका लागि र्र्याल काढेर बसिरहेका ब्वाँसाहरु छन्। धरातलीय यथार्थ नबुझेरै काठमाडौँ बसेर नयाँ नागरिकता दिनु हुँदैन भन्नेहरु पनि त्यत्तिकै गलत छन् जति पाँच सय रुपैयाँमा नागरिकता बेच्नेहरु दोषी छन्। संघियता आयो भने आफ्नो राजनैतिक जीवन सखाप हुन्छ भनी सोच्ने वा आफुले भनेकै ठाउँबाट संघको सिमाना कोरिएन भने आफ्नो भोट कम हुन्छ कि भनेर डराउने नेताहरु; पहिले उत्पीडनमा परेकाहरुले अधिकार पाउँदा आफुले 'अहिले सम्म गरेको पुरेत्यांहीको के फाइदा त?' भनेर कुर्लने ठालुहरु वा भेंडाको पछी लागेर आलो रगत चाट्ने घुर्की लगाउने आलुहरु; देश टुक्राउन तम्सेका के-के जाति अधिकारका रक्षकहरु र आफ्ना र पराई पनि नचिन्ने उग्रजातिवादी भक्षकहरू सबै सानाठुला ब्वाँसाहरु हुन्: पाए भने राष्ट्रिय एकतालाई लुछेर आफ्नो भोक मेट्ने। तर आम जनता जागरुक भएर आफ्नो आवाज बुलन्द गरे ती सब डराउनेछन्; जागरुक जनता सम्मानपूर्ण र समतामुलक समाज बनाउने अभियानमा एकताबद्ध भएर अघि लम्के ती सबै भाग्नेछन्।
यसर्थ, सरकार, मिडिया र प्रेस, शिक्षाविद, र सबैभन्दा महत्वपूर्ण विभेदका दुवै
तर्फ रहेका साधारण जनता एकजुट भै सम्पूर्ण देशवासीको भागेदारी र सम्वृद्धिको
लागि सकारात्मक सामाजिक संस्कार विकास गर्ने अभियानमा अग्रसर हुनु नै अहिलेको
आवश्यता हो।
No comments:
Post a Comment