टिचिंग अस्पतालका डाक्टर गोविन्द के सी ले चिकित्सा विज्ञान पढाई हुने क्याम्पसहरुमा गुणस्तर र चरम राजनैतिक हस्तक्षेपका बिरुद्ध एउटा अलग किसिमको आन्दोलन छेडेका छन्, बन्द हड्ताल जस्ता कार्यक्रमको सहारा लिएर श्रमजीवी जनतालाई दुख दिनुभन्दा, उनले आमरण अनसन बसेर सरकारलाई चुनौती दिईरहेका छन्। अर्की शारदा भुषाल झाले पनि गा.वि.स.हरुमा हुने भ्रष्टाचार बिरुद्ध अनसन बस्दै आएकी छन्। यी दुई पात्रहरु भोलि नयाँ नेपालमा कस्तो प्रशासनिक व्यवस्था बनाउने भन्ने आन्दोलनमा आम जनताको बोलि लिएर अगाडी बढेका छन्।
नेपाली जनताले सम्मान सहितको एकताबद्द नेपाल खोजेका छन्; त्यस किसिमको व्यवस्थाको माग गर्नुमा कुनै सन्देह छैन। तर नेपाली जनताले खोजेको त्यो व्यवस्थामा अहिलेदेखि नै भ्रस्टाचारको धमिरो लागिसकेको छ, त्यो व्यवस्था पूर्ण रुपमा सुरु नहुँदै त्यसलाई नातावाद र कृपावादको जुकाले सुकाईरहेको छ, र अनुचित राजनैतिक हस्तक्षेपको कालो बादलले छोपिसको छ। यथार्थमा समावेशी र सम्वृद्ध समाज कल्पना गर्दैमा र संबिधानका केहि धाराहरुमा लेखेर मात्र प्राप्त हुदैन; कार्यान्वयनमा निरन्तर इमान्दारिता, पारदर्शिता र कर्मशीलता भएन भने हामीले चाहेको नयाँ मुलुक हामीले कहिल्लै प्राप्त गर्ने छैनौं।
हाम्रो देशका जनताले एकत्रित र एकताबद्ध भएर राजनैतिक परिवर्तन ल्याउनका लागि ठुला ठुला आन्दोलनहरु गरेका छौं, निकै बलशाली शक्तिहरुसंग पैंठेजोरी खेलेका छौं र अन्त्यमा विजयी पनि हुँदै आइरहेका छौं। आफुले खोजेको राजनैतिक व्यवस्थाका लागि जनताले ठुलो भन्दा ठुलो बलिदानी दिएका उदारहणहरुले हाम्रो देशको इतिहास सजिएको छ। चाहे त्यो आन्दोलन निरंकुश राणा साशनको अन्त्यका लागि होस् वा प्रतिगामी पंचायति व्यवस्थाका बिरुद्ध होस् वा राजतन्त्र बिरुद्धको दोश्रो जन-आन्दोलन होस् वा एकात्मक राज्य र विभेदका बिरुद्धको मधेश आन्दोलन होस्; जनताले समयको मागसंगै ठुला ठुला परिवर्तनका सपनालाई आफ्नै बलबुताले यथार्थ बनाएका छन् ।
गणतन्त्र स्थापनाको घोषणा पछी काठमाडौँमा एक हर्षित नेपाली युवती (तस्विर साभार कान्तिपुर प्रकाशन) |
सर्वोत्कृष्ट राजनैतिक व्यवस्थाको खोजिमा भौंतारिरहदा अब हामीले के बुझिसकेका छौं भने अबको हाम्रो माग राजनैतिक परिवर्तन संगै सामाजिक परिवर्तनको हुनुपर्छ। अबको जनताको आवाज राजनैतिक परिवर्तनलाई जनजीविकासंग जोड्नु पर्छ भन्ने आवाज हो। अबको जनताको लडाई कुनै राजनैतिक व्यवस्थाका बिरुद्ध नभई ती व्यवस्थाभित्र मौलाएका बेथिति बिरुद्धको हो। हाम्रो देश यति सानो र श्रोतसम्पन्न छ कि, स्थिर र स्वच्छ नेतृत्वले जवाफदेही भएर काम गर्ने हो भने मात्र केहि बर्षमै चमत्कारिक परिवर्तन देशका हरेक घरहरुमा सबैले महशुस गर्न पाउनेछन्। तर राजनैतिक परिवर्तन संगै मौलाएको भ्रस्टाचार, नातावाद-कृपावाद, अनावस्यक हस्तक्षेप आदिले हाम्रो बलिदानीलाई निरर्थक बनाईदिएका छन्। सुन्दर भविष्यको सपना देखाएर संगठन फैलाउदै हिंडेका राजनीतिक शक्तिहरु आफै जनताको चाहानाको ठिक बिपरित कुसंस्कार र बेथितिलाई जन्म दिने, हुर्क्याउने, र पक्षपोषण गर्ने घिनलाग्दो कर्तुतमा लिप्त भएपछी अब फेरी एकपटक जनता एउटा नयाँ क्रान्ति, एउटा नयाँ आन्दोलनमा होमिने बेला आइसकेको छ। विचारधारा र वादका व्याख्याको विभाजनकारी भेलमा हामफाल्ने प्रवृति त्यागी अब यथार्थ परिवर्तनका लागि एककृत भएर जनता जाग्नु पर्ने बेला आएको छ।
विगतका हरेक आन्दोलनमा जनतालाई नेतृत्व गरेका थिए: राजनैतिक
संघ-संगठनहरुले, राजनतिक दलहरुले। अब यस पटक जनताको आवाजको नेतृत्व गर्न
कुनै राजनैतिक दल आइरहेका छैनन्; न त खुलेर समर्थन नै गरिराखेका छन्। किनकि
यस पटकको जनताको आवाज अब राजनैतिक व्यवस्था परिवर्तन गर्न नभई सामाजिक
व्यवस्था र व्यवाहार परिवर्तन गर्न प्रेरित छ। जसरि पछिल्ला राजनीतिक
आन्दोलनहरुमा राजनैतिक दलहरुको साथ नेपाली जनतालाई प्राप्त थियो, यसपालिको
आन्दोलन तिनै राजनैतिक दलहरुको अकर्मण्यताबिरुद्ध भएकोले उनीहरुको साथ
पाउने आस नगरे पनि हुन्छ। एउटा अपराधिहरुको समूहलाई उनीहरुको अपराधको
आत्मआलोचनामा आत्महत्या गर्न फकाउनु जति काल्पनिक र बालापन हुन्छ; त्यति नै
अबोध मुर्खता आफै भ्रस्टाचारमा लिप्त राजनीतिक दलहरुले भ्रस्टाचारका
विरुद्धको आन्दोलनमा साथ देलान् कि भन्ने आसमा छ।
राजधानीमा भएको एक स्वतस्फुर्त असंलग्न नागरिक जमघटको दृश्य |
तर ठिक यहिबेला हामीले आफ्नो ऐतिहासिक कर्तव्य विर्सेका छौं: राजनीतिक दलहरुले डाकेको शक्ति प्रदर्शनमा हजारौंको संख्यामा जम्मा हुने हामी जनताले भ्रस्टाचार बिरुद्धको आन्दोलनमा सहभागिता जनाउने काम कोहि अरुकै हो भन्ने आस गरिरहका छौं। डा. गोविन्द के. सी. जस्ता एक जना सन्त प्राण आहुति दिन तयार भैरहदा हामी मुकदर्शक भैरहेका छौं। तेत्रा ठुला शक्तिहरुलाई ढालिदिने सामर्थ्य भएका हामी जनता अहिले दुई चार भ्रस्टाचारीहरुसंग डराएर बसिरहेका छौं। कुनै राजनैतिक दलले नभन्दा सम्म आफ्नो विवेक प्रयोग गर्नै नसक्ने भेंडा भएका छौं; र अब वास्तविक जनजीविकाको लागि लडाई लड्ने बेलामा हामी हिच्किचाईरहेका छौं।
त्यसैले अब व्यवस्थामा बेथिति निम्त्याउने हस्तक्षेपकारि राजनैतिक दल र तिनका नेताहरु, संस्था संस्थामा रहेका पार्टीका चम्चाहरु र भ्रस्टाचारीहरु बिरुद्धको लाखौंको मोर्चा बनाउन जरुरि छ। हामीले चाँही आफ्नो लडाई आफैले लड्नु पर्नेछ; अन्त्यमा नेताहरु जनता जता जता जान्छन् त्यतै भौंतारिदै आउनेछन् । देश र विदेशमा रहेका सम्पूर्ण देशप्रेमीहरुले आफ्नो सक्दो प्रयास गर्नु पर्नेछ। यसपालिको आन्दोलान जनताले आफैले नेतृत्व लिएर अघि बढाउनु पर्छ। यस अभियानमा हामीलाई डा. गोविन्द के सी जस्ता महामानवले मार्गदर्शन गर्नेछन्, यस पालिको लडाईमा हामीलाई शारदा भुषाल झा जस्ता योद्धाहरुले साथ दिनेछन्।
क्रान्ति सकिएको छैन, जारि छ!