अबको नेपाल कस्तो बनाउंदै हुनुहुन्छ हजुरहरुले? कि हामीले पनि हाम्रो बेला आए पछी आन्दोलन, बन्द-हड्ताल गरेर बस्नु पर्ने हो फेरी? |
अहिलेको नेपाल
हाम्रो बारेमा संसारले कसरी सोच्दछ त? तपाई हामी जोसुकै भएपनि एउटा नेपाली भारतमा
ढोके हो; खाडी मुलुक र मलेशिया र हंगकंगमा सस्तो कामदार हो। बेलायतले हाम्रो देशलाई अर्काको देशको लागि ज्यान
नै दिन सक्ने मुर्ख लडाकुहरुको देश भनेर चिन्छ। मनमा कुनै संका नराखे हुन्छ हामी अहिलेसम्म यस्तै छौं, यस्तै हौँ।
किन त? यो सबै हामी गरिब भएरै भएको हो।
किन त? यो सबै हामी गरिब भएरै भएको हो।
कृषकहरुको देशले आफुलाई पुग्ने गरि उत्पादन गर्न नसक्नु हाम्रो गरिबी हो।
मधेसका फाँटहरुमा हामीले रासायनिक मल पुर्याउन सकेका छैनौं। पहाडका पाखाहरुमा भुइँकटहर फल्थ्यो होला! सुन्तला र स्याउ लटरम्मै हुन्थ्यो होला: तर हामीलाई तेही चामल चाहिएको छ, हरेक घरमा। इजराएलमा करोडौं डलरको पुष्पखेति हुन्छ; हामी कृषकहरुले कहिल्लै सिकेनौं। बिदेशीको सिको गर्दै घरमा केबल टि.भि. छ, सबै भन्दा नयाँ मोडेलका मोबाइल फोन छन्: तर खेत खन्न तेही हजारौं वर्ष पहिले देखि चली आएका कुटो, कोदालो र हलो।
स्वदेशी तथा बिदेशी पत्रिकामा छापिएका नेपाल अपुग खाद्द्य पदार्थ आयात गरेका समाचारहरु। |
हजारौं खोला र नदीहरुमा बगिरहेको बिजुली उत्पादन गर्न नसक्नु हाम्रो गरिबी हो।
कसैले लगानी गर्न खोज्दा राष्ट्रियतामा आँच आएको देख्छौं हामी; आफुले गर्न
सक्ने केहि होइन। एक चौथाई युवाले
पठाएको विप्रेषण (रेमिट्यान्स) कहिल्लै एउटा एकत्रित लगानीमा परिणत गर्न सकेनौं
हामीले। बरु राजनीतिको नाममा
बन्दै गरका योजनाहरु पनि बन्द गर्यौं।
लुम्बिनी र पशुपतिनाथ आउन चाहने दर्सनाभिलाषीलाई राम्रो आतिथ्य गर्न नसक्नु हाम्रो गरिबी हो।
बौद्ध र हिन्दु धर्मावलम्बीका पवित्र तिर्थस्थालहरु; संसारकै अग्ला हिमसिखरहरु र मनोरम प्राकृतिक छटाहरुले हामीलाई गरिबीबाट उकास्ने योग्यता राक्दछन् (तस्बिर साभार: पाटन स्वास्थ्य बिज्ञान प्रतिष्ठान)। |
र सगरमाथाको बिराट उचाईबाट प्रोत्साहन खोज्नेहरुका पाइलामा पाइला मिलाउन नसक्नु हाम्रो गरिबी हो। संसारकै अग्ला हिमसिखर, सबैभन्दा उचाइमा रहेका ताल, सबैभन्दा सुन्दर सहरहरु र उपत्यकाहरु भएको देश हो हाम्रो। यहाँ त पर्यटकहरु ओइरिनु पर्ने थियो। तर हामी न त आफैलाई चिनाउन जानेका छौं, न त चिनेकालाई आमन्त्रण गर्न। पूर्वी सभ्यताका महानतम पुरुष गौतम बुद्धको जन्मस्थल लुम्बिनी आउन चाहने करोडौं छन्। मात्र उनीहरुलाई आउने वातावरण मिलाइदिनु पर्छ। हाम्रो देशप्रेम पनि अनौठो छ, एउटा छिमेकी मुलुकले उहाँको जीवनलाई र उहाँका विचारलाई देशकै चिनारी बनाउन खोज्दै छ: हामी त्यस कुरामा मात्र रिस गर्न जानेका छौं; हाम्रो आफ्नो सक्रियता सुन्य छ। हामीले हाम्रा युवाहरुलाई कोरियन भाषा सिकेर पराई मुलुकमा मजदूरी गर्न पठायौं। त्योभन्दा त चिनियाँ, जापानी; कोरियन र थाई भाषा सिकाएर देशमै लुम्बिनीमा पथप्रशिक्षण गर्ने वातावारण बनाए कति राम्रो हुँदो हो।
छरपस्ट बैभव र अपार श्रोतहरुको व्यवस्थापन गर्न नसक्दा यस्तो अवस्था आएको हो। तर गरिबी धनको मात्र भएको भए सायद यति दुखपूर्ण स्थिति हुदैनथ्यो होला! खै, धनको गरिबी लामो समयसम्म भैरख्दा मनलाई पनि गाँजेको हो कि?
हाम्रो वीरता अब आफ्नो देशको सिमा जोगाउन केन्द्रित छैन, अर्काको देशको
विस्तारवादी अभिलाषाहरुलाई सहयोग गर्न हाम्रा हजारौं योग्य र कर्मशिल युवाहरुले
बेलायती र भारतीय सेनाका रुपमा हरेक दिन ज्यानको बाजी लगाएर कश्मिर, इराक र
अफगानिस्तानमा युद्धमा होमीएका छन्। भूपी सेरचनले भने जस्तै अहिले हामी बुद्धु छौं र त वीर छौं: र अचम्म फेसबुक र
ट्वीटरमा तिनै 'वीर'को गुणगान गाइन्छ।
बेलायती महारानीले एकजना नेपाली मुलका 'गुर्का' सेनालाई बहादुरीको तक्मा लगाईदिंदै छिन् (तस्बिर साभार:बेलायती पत्रिका डेली मेल )। |
हाम्रो देशभक्ति दक्षिणी छिमेकीलाई गालि गर्नमा सिमित छ, जुन हरेक बर्ष गर्व साथ
डी.भि. भर्नेको लाममा छचल्किन्छ, छर्लंग हुन्छ। हाम्रो विदेश नीति बिशेषगरि एउटा छिमेकी देशका जुनसुकै
नेताहरु र उच्च कर्मचारीहरुको गुलामी गर्नु हो। हामी र हामी मद्धेका नेताहरु नैतिक धरातलमा अझ गरिब छौं।
अबको नेपाल
अहिले बेला अबको नेपाल बनाउने हो। संसारमा अरु देशहरु आफ्नै पूर्ववत
वेगमा अघि बढिरहंदा भोलिको नेपाल बनाउने तर्फ लग्न धेरै ढिलो भैसकेको हुनेछ।
दक्षिण कोरियामा से-मूल उंडोंग(बदलिँदो गाउँ अभियान) मार्फत २ वर्षमै ग्रामिण क्षेत्रको कायापलट गरियो। त्यसकै जगमा कृषि क्रान्ति मार्फत द. कोरिया एउटा गरिब मुलुक बाट अहिले संसारकै धनी मद्धेको मुलुक बन्न सफल भएको छ।
लगभग कुनै प्राकृतिक श्रोत-साधन नभएका कोरियालीहरुले त गरेर देखाइसके, प्रकृतिको बरदान हाम्रो देशमा मात्र स्थाई सरकार, उत्तरदायी प्रशासन अझ सबैभन्दा बढी उत्प्रेरित जनता मिलेर लागे हाम्रो देशमा पनि गर्न नसकिने केहि छैन।
अबको नेपाल हाम्रो गरिबीसंगको युद्धमा बिजयपछी बल्ल बन्नेछ। हाम्रा लडाईका मोर्चाहरु तिनै सुनिआएकै
मुद्दाहरु हुन्: आर्थिक विकास, राष्ट्रिय पहिचान। हामीले आफैलाई
हाम्रै देशभित्रका सम्भावनाहरु चिन्न सिकाउनु पर्ने भएको छ। यो समय खाडी मुलुकमा मजदुरी गर्ने सोंच बनाएका
युवाहरुलाई कृषि, जलश्रोत र पर्यटन व्यवसायी बनाउने बेला हो; यो समय पल्टन जान
तम्सेका युवाहरुलाई देशमै एउटा नयाँ तरिकाले लड्न सिकाउने बेला हो।
यो अबको नेपाल बनाउने बेला हो।
No comments:
Post a Comment