तत्कालिन नेपाली पक्ष र बेलायती इष्ट इंडिया कम्पनीका प्रतिनिधिहरुका बीच सन् १८१६ मा गरिएको सुगौली सन्धिको चित्र। तस्बिर साभारः विकिपीडीया |
कुनै पनि देशको वास्तविक राष्ट्रियताको भावना बुझ्नका निम्ति त्यो देशको भूगोल, इतिहास, उक्त देशका नागरिकहरुको चरित्र, र भविष्यका सम्भावनाहरुको समष्टिगत अध्ययन गर्नु अपरिहार्य छ।
हाम्रो देशको राष्ट्रियताको आफ्नो-आफ्नो तरिकाले व्याख्या गरेर नथाक्ने राष्ट्रवादीहरु, आफुलाई देशका बुझक्कड ठान्ने नेताहरु र विद्यालयका किताब पढेर असन्तुलित ज्ञान राख्ने ज्ञानीहरु सबैमा सर्वांगीण राष्ट्रियताको खोज र अध्ययनको कमि देखिन्छ।
नेपालको राष्ट्रियताको मूल भाव निर्धारण गर्न सर्वप्रथम भूगोलको इतिहासको बिस्तृत अध्ययन जरुरि छ। हाम्रो देशको हाल गरिने राष्ट्रियताको व्याख्याको प्रमुख भावधार न त भुगोलले परिभाषित गरेको छ न त यसको चरित्र नै समावेशी छ। यो अवस्था आउनुमा विशेषत: इतिहासको बंग्याईएको परिभाषाले सबै भन्दा ठुलो भूमिका खेलेको देखिन्छ।
हाम्रो देशको राजनीतिक भूगोल इतिहासको विभिन्न कालखण्डमा विभिन्न राज्यका राजा/रजौटाहरू द्वारा एकीकृत गरिएको ऐतिहासिक भूभाग हो। ती राज्यहरु मध्ये १८औं सताब्दीमा क्षेत्रिय रुपमा शक्तिशाली गोर्खा राज्यको बिस्तार र सोहि कालखण्डमा अन्य छिमेकी राज्यहरुको स्थितिको बिस्तृत अध्ययन गरे हालको भूगोल बुझ्न सकिन्छ। राष्ट्रियता सम्बन्धि प्रचारित गोर्खा राज्यको विस्तारका क्रममा यो भुमंडलमा भएका केहि इक्षाका कथा, केहि घटनाहरुको विवरण, केहि सनकको बिचार, केहि युद्धका लडाई, केहि बलिदानका गाथा, केहि धोखाका चोटहरु, केहि मित्रताका उदारहण आदि का बारेमा ख्याल नराखी अगाडी बढ्न खोजियो भने हामीले राष्ट्रियता सम्बन्धि सन्तुलित ज्ञान पाउदैनौं। हालसम्म पाठ्यपुस्तक र सत्तासिन वर्गको साहित्यमा केहिपाटा अतिरन्जित गरिएका छन्, केहि पाटा जानीजानी छुटाइएका छन् र केहि पाटाहरुको गलत ब्याख्या गरिएका छन्।
यस पृष्ठभूमिमा हामीले हाम्रो देशको हालको भूगोलको इतिहास नयाँ र सम्पूर्ण रुपमा अध्ययन गर्दा हाम्रो देशको हालको भूगोल भिन्न भिन्न अभियान र सन्धिहरुबाट निर्धारित भएको थाहा पाउछौं।
१. पृथ्वीनारायण शाहले सन् १७४४ मा नुवाकोट आक्रमण बाट सुरु गरेको गोर्खा बिस्तार अभियान बढ्दै गयो। कालान्तरमा गोर्खा राज्यले सन् १७६९ मा काठमाडौँ उपत्यकामा बिजय हाशिल गरेपछि उक्त गोर्खा राज्यको नाम पनि नेपाल राखियो। पृथ्वीनारायणको उक्त अभियानलाई उनका सन्ततिहरुले मल जल गर्दै केहि समय नेपालको सिमाना पुर्वमा हालको सिक्किमको टिस्टा नदि पश्चिम मा देहरादुनको कांगडा किल्ला र हालको नेपालको तराईका सम्पूर्ण भूभाग गरि “बिशाल” नेपालको सिर्जना भएको हो।
बिशाल नेपालका यी भूभाग गोर्खा/नेपाल राज्यको मातहतमा २०-२५ वर्षको लागि रहेका थिए।
२. गोर्खा/नेपाल राज्यको बिस्तार हुदै जाँदा हालको भारत, पाकिस्तान, बंगलादेश आदि भूभागमा हक जमाएर बसेको बेलायती इष्ट इंडिया कम्पनीको विस्तारवादी व्यापारिक अभिलाषाहरुसंग टकराव हुँदा सन् १८१४ देखि नेपाल-बेलायत युद्ध भयो। बेलायाती सेनाले ५ स्थान बाट आक्रमण गरेकोमा २ स्थानमा नेपाली सेनाले बेलायती सेनालाई पछी धकल्न सफल भयो भने ३ स्थानमा उसको हार भयो।
लगभग २ वर्षसम्म चलेको उक्त युद्धमा नेपाली सेनाले त्यतिबेलाका युद्ध प्रविधिमा आफु भन्दा निकै बलियो र संख्यात्मक रुपमा निकै ठुलो बेलायती सेनासंग पराजित भए पनि अदम्य साहस प्रस्तुत गरेका थिए। उक्त पराक्रमको अभूतपूर्व प्रदर्शन यति बिस्मयादी थियो कि दुश्मन सेनाले पनि त्यसको सम्मान नगरी धरै पाएन।
बेलायत नेपाल युद्ध अन्त्य गर्नका निम्ति सन् १८१५ मा गरिएको सुगौली सन्धिले नेपाल देशको एउटा नयाँ संकुचित सिमा निर्धारण गर्यो जसमा नेपालले मेची पुर्व र महाकाली पश्चिमका सम्पूर्ण भूभाग गुमायो। त्यसै गरि बुटवल बाहेक कालि नदि देखि कोशी नदि बीचको सम्पूर्ण समथल भूभाग पनि नेपालका राजाले इष्ट इंडिया कम्पनीलाई सुम्पिने निर्णय भयो, र त्यसको बदलामा प्रति वर्ष निश्चित रकम नेपालका प्रमुख र भारदारहरुलाई इष्ट इंडिया कम्पनीले दिने निर्णय भयो।
३. फेरी केहि वर्ष पछी सुगौली सन्धि असमान भएको र नेपाली पक्षलाई विभेदपूर्ण भएको आंकलन भएपछी सन् १८१६ को अन्त्यमा एउटा नयाँ समझदारी गरियो, जसअनुरुप ब्रिटिश इष्ट इन्डिया कम्पनीले नेपाललाई धेरै जसो समथल भूभाग फिर्ता गर्ने निर्णय गरियो। तर उक्त भुमि फिर्ता गर्दा एउटा प्रमुख सर्त के राखियो भने तात्कालिन नेपाल राज्यका तर्फबाट उक्त समथल भुमिका जनतालाई कुनै किसिमको भेदभाव गर्न पाइने छैन। नेपाली सेनाले आक्रमण गर्ने थाहा पाएपछि तराई-मधेसका राजा रजौटाहरुले पहिले बेलायतीसंग सहयोग मागेको र सहकार्य गर्न खोजेको हुँदा नेपाली पक्षबाट भेदभाव हुने डरमा उक्त सर्त राखिएको थियो। यसरी नयाँ सम्झौता मार्फत एकातर्फ बेलायती कम्पनीले नेपालका भारदारलाई रकम दिनु नपर्ने भयो र आर्को तर्फ नेपालले सुगौली सन्धि मार्फत गुमेको भूभाग फिर्ता पायो। यसरी सन्धिका बुंदाहरु परिमार्जन हुँदा तराई-मधेशका भुरे राज्यहरु छोटो समयमा स्वत्वंत्र भुरे राज्यहरु, नेपालमा, केहि बेर बेलायत अधिनस्थ र अन्त्यमा नेपालमै रहे।
४. सन् १८५७ मा इष्ट इंडिया कम्पनी शासित भारतमा भारतीय सिपाहीहरुले बिद्रोह छेडे। उत्तरी भारतको गोरखपुर र लखनउ वरपर उक्त बिद्रोहलाई तत्काल दबाउन बेलायतलाई हम्मेहम्मे परिरहेको बेलामा नेपाल बाट श्री ३ जंग बहादुर राणा स्वयं त्यहाँ गई १५००० नेपाली सेना मार्फत उक्त बिद्रोहलाई दबाए। सन् १९५८ मा इष्ट इंडिया कम्पनीलाई बिस्थापित गर्दै बेलयाती प्रतक्ष्य शासन स्थापित भयो, उक्त सरकारले नेपाली सेनाको यो सहयोबाट खुसि हुँदै हालको नेपालको बाँके, बर्दिया, कैलाली र कंचनपुर जिल्लाको भूभाग उपहारस्वरूप नेपाललाई प्रदान गर्यो।
५. आलटाल परेर छोडिएका सिमारेखाका कारण पनि हाम्रो देशको भूराजनैतिक मण्डल प्रभावित भएको छ. स्थिर सरकार नबन्दा र सरकारमा पुगेकाहरुको पनि इक्षा-शक्ति नहुँदा सबै देशवासीलाई सीमाको समस्या मुटुको दुखाइ भएको छ। हाम्रो जस्तो सानो देशमा अझैं पनि लगभग ६०० वर्ग किलोमीटर बारबारको क्षेत्र बिवादीत हुनुले हाम्रो देशको नेतृत्वकर्ताहरुको अकर्मण्यता र लापरबाही स्पष्ट झल्कन्छ।
नेपालको आफ्ना छिमेकीहरुसंग सिमा विवाद रहेका स्थानहरु (नक्सा बुद्धि नारायण श्रेष्ठको http://bordernepal.wordpress.com बाट साभार) |
यसरी मुलत: हाम्रो देशको बर्तमान क्षेत्र एउटा बिस्तार अभियान, एउटा सन्धि, केहि कुटनीति र केहि कमजोर नेतृत्वले निर्धारण गरेका छन्।