हेर न शहीदहरुलाई
नेपालीको अनुहारमा...
नेपालीको अनुहारमा...
हाँसिरहेको...
उसको आफ्नो एउटा सानो संसार थियो, एउटी माया गर्ने श्रीमती थिइन्। तिमी हामी जस्ता सामान्य व्यक्तिहरु जस्तै उसका आफ्नै खुसीहरू थिए, आफ्नै डरहरु थिए।
तर उ मरेको ७३ बर्ष पछी पनि सारा देशले उसको किर्ति गाईरहन्छ, उसको जीवन गाथा सुनेर भर्खर अक्षर चिन्दै गरेका लाला बालाको छाती गर्वले ढक्क फुल्छ, एउटा युवा अर्को युवाको स्वरमा स्वर थप्दै आन्दोलित हुन्छ।
अत्याचारी सरकारको मुकुण्डो खोल्दै गर्दा एउटा भर्खरको ठिटोले “एक दिन मर्नु नै छ; किन भुस्याहा कुकुर जस्तो मर्नु, मर्नै पर्ने भएपछी एउटा नायक भएर मर्नु ठिक!” भन्नु मात्र युवा उभारको उपज थिएन; त्यो साहसिक उद्घोस एउटा बिस्मयादी र भव्य मृत्युवरणको तयारी थियो, जसको रक्तबीजबाट लाखौं न्यायप्रेमीहरुमा साहसको पालुवा पलायो, जसको आत्माले एउटा आन्दोलनमा प्राण भर्यो र देश-विदेशका करोडौं मरेतुल्य लासहरुलाई जीवन दियो।
यो कथा शहीद गंगालाल श्रेष्ठको हो।
यो कथा एउटा ख्याउटे फुच्चेको हो।
कमजोर ज्यान र दुब्लो जिउडालका कारण आफ्नै उमेरका केटाहरुको मजाकको पात्र थियो, उ। तिमि हामी जस्ता सामान्य व्यक्ति जस्तै हेला र दुर्बलताले निम्त्याउने हिनता उसमा पनि थिए। त्यसलाई पार पाउँदै उसले शक्तिशाली र बैभवशाली दरबारमा पुग्दा तिमी हामी घमण्डको सगरमाथामा रमाउंदै हुन्थ्यौं होला।
तर आफ्नो नवआर्जित शारीरिक बल र मानसिक पराक्रमको चाहकले त्यसले उसको जीवन प्रेरणादायी र उसको मरण अजम्मरी बनेको छ।
राजदरबार भित्रबाटै तत्कालिन व्यभिचारी शासकहरुको बिरुद्धमा क्रान्ति छेडेर उसले आफ्नो जीवन हत्केलामा राखेर देशवासीकालागि सम्पूर्ण सुखसयललाई तिलाञ्जली दिनु उसले आफ्नो मात्र लहड थिएन; त्यो अदम्य शाहस अन्याय बिरुद्धको अन्तिम लडाईको तयारी थियो, देशका जनताको दुर्बलताको नाजायज फाइदा उठाइरहेका निरंकुश राक्षसहरुलाई मरणासन्न पर्ने बलशाली प्रहार थियो।
यो कथा शहीद धर्मभक्त माथेमाको हो।
नेपालका प्रजातान्त्रिक आन्दोलनका चार सहिदहरु क्रमसः दशरथ चन्द, धर्म भक्त माथेमा, गंगालाल श्रेष्ठ, शुक्रराज जोशी |
यो कथा एउटा जान्ने बुढोको हो।
देशभरिमा पढेलेखेका मान्छे औंलामा गन्न सकिने अवस्थामा रहेको बेला ऊ उच्च शिक्षामा अब्बल भैसकेको थियो। तिमी हामी जस्ता ‘धेरै’ पढेका बुझक्कडहरुमा रहेको दम्भाकारी अन्धोपनमा ऊ पनि रमाउन सक्थ्यो; आफ्ना अगाडी भैरहेका अन्ययाहरुमाथि उसले पनि शब्दजालको ठेली फ्याँकी आखाँ चिम्लिदीन सक्थ्यो।
तर उसले शिक्षालाई सामाजिक परिवर्तनको हतियार उठाउने हिम्मत गर्यो। स्वतन्त्रताको बिचारको झिल्को देखायो, त्यसलाई ज्ञानको ज्योतिले जीवन्त बनाउंदै गर्दै बलिदानीको आहुतिले जजल्वामान बनाइदियो।
ज्ञानले धपक्क, ऊ आफैलाई मासेर देशको लागि उज्ज्यालो दिव्यज्योति बनिरह्यो।
यो कथा शहीद शुक्रराज शास्त्रीको हो।
यो कथा एउटा प्रेमीको हो।
उसले तेह्र बर्षको उमेरमै मातृवात्सल्य गुमायो। कालान्तरमा उसले भारतमा पढेर आएपछि तत्कालीन जहाँनिया कमान्डर इन चिफ ले दशरथलाई दरबारमा जागिर र आवास दिएका थिए। तिनै कमान्डरकी छोरीसँग उसको प्रेम चल्यो र विवाह पनि छिनियो तर दुईपटक सम्म जुठा परेका कारण उनीहरुको विवाह हुन सकेन। पछी ति कमान्डरको ताज अन्तरिक कलहबाट खोसियो र पाल्पा सरुवा गरियो, राजकुमारी पनि संगै पाल्पा गइन्। यसै क्रममा यो प्रेमीले देशका जनताको मुक्तिको पनि सपना देख्न थाल्यो र त्यो कठिन घडीमा एउटा भूमिगत अभियानको नेतृत्व गर्ने हिम्मत गर्यो। बदलिएको परिस्थितिमा उसको माया अघि बढ्न असम्भव भयो।
निरंकुश सरकारको नाली बेली बुझेको ऊ आफ्नो ज्यानको समेत प्रवाह नगरी जनताको मुक्तिका लागि होमियो। अब उसको यो नयाँ मायाको बलले सारा देशलाई एक बनायो; उसको बलिदानले क्रान्तिको अवस्यम्भावी विजयको बिगुल फुक्यो।
यो कथा शहीद दशरथ चन्दको हो।
शहीदका सपना साकार पारौं...
No comments:
Post a Comment